मेरो व्यवसाय
शान्तकुमार जिरेल, किसमत कृषि फार्म, चरिकोट
प्रवेशिका परीक्षा पास गरेपछि २०६३ साउनमा कलेज पढ्न एउटा झोलामात्र बोकेर गाउँबाट सदरमुकाम चरिकोट आएको थिएँ । कलेज पढाउने सामथ्र्य परिवारको थिएन, त्यसैले आफैं केही काम गरेर पढ्नुपथ्र्यो । गाउँमा लेकको जग्गा भएकाले त्यसको उत्पादनले वर्षभरि परिवारलाई खान नपुग्ने हुँदा घरखर्च टार्न बुबा सिक्किमतिर जानुहुन्थ्यो ।
एक वर्ष जसरी तसरी खर्च पु¥याएर पढें । २०६४ साउनमा चरिकोटकै जनहित सहकारी संस्थामा बचत संकलकको काम पाएँ । सहकारीमा काम गर्ने भएकाले त्यहाँबाट र केही व्यक्तिगत ऋण लिएर ३३ हजारमा बजारनजिकै कुखुरापालन सुरु गरें । एक वर्षजति त्यही ठाउँमा कुखुरा पालें । ठाउँ र हावापानी अनुकूल ठानेर दोलखा बजारमा कुखुरा फार्म सारें । त्यहाँ मैले १ हजारदेखि ३ हजार ३ सयसम्म कुखुरा पालें । एउटै फार्ममा यति धेरै कुखुरा पालेको दोलखा जिल्लामै सम्भवतः सबैभन्दा बढी होला ।
दोलखा बजारमा कुखुरा पाल्दै गर्दा नजिकै एकजनाले पोखरीमा माहुर जातको माछापालन गरेको देखें । ठूलो फार्ममा मरेका कुखुरा खेर नजाने भएकाले चिताम्थलीमा १० वर्षका लागि १२ रोपनी जग्गा भाडामा लिएर दुई वटा पोखरी बनाई माछापालन सुरु गरें ।
कुखुरा फार्म ठूलो भएकाले मासु व्यवसायीले भनेजति मूल्य नदिने र बढी भएका बेला पनि किसानलाई दुःख दिने भएकाले केही समय मैले पनि दुःख पाएँ । त्यसपछि ६ महिनाअघि चरिकोटमा आफैं कोल्डस्टोर खोलें । कोल्डस्टोरमा बुबा बस्नुहुन्छ । आफ्नो फार्मको कुखुरा, खसीको ताजा मासु र आफ्नै पोखरीको माछा त्यही कोल्डस्टोरबाट बिक्री गर्छु । अहिले कुखुरा फार्म पनि माछापालनसँगै सारेको छु । बंगुरका ६ वटा माउ पाल्दै तरकारीखेती पनि गरिरहेको छु ।
अहिले परिवारका चार जना आफ्नै व्यवसायमा व्यस्त छन् । व्यवसायको व्यस्तताले सहकारीको जागिर छाडेर पूर्ण रूपमा यसमै केन्द्रित भएको छु ।
मेरो व्यवसाय देखेर जिल्ला पशु सेवा कार्यालयले समेत गत वर्ष स्वरोजगारमूलक कार्यक्रमबाट ३० हजार उपलब्ध गराएको थियो । अहिले पनि कार्यालयले परामर्श र सल्लाह दिइरहेको छ । फार्म यहाँका लागि नौलो भएकाले पनि होला– दैनिक हेर्न आउनेहरू पनि बढ्दै गएका छन् ।
मजस्ता धेरै युवाहरू रोजगारीको सिलसिलामा चर्को श्रम गर्न खाडितिर जाने क्रम बढेको छ । धेरै बेरोजगारी भइयो भनेर सडकमा भौतारिइरहेका छन् । तर, घरबाट केही नलिई निस्केको मजस्ता व्यक्तिको ४ वर्षमा करिब ७० लाखको पुँजी भएको छ भने अरुको किन नहुने ?
आफूले गरेको कामप्रति म पूर्ण सन्तुष्ट छु । कुखुरा र माछाको विषयमा पढेका डाक्टरभन्दा पनि म परेको डाक्टरजस्तै भएको छु । यो व्यवसायलाई अझ विस्तार गरी राम्रो किसान बन्ने नै मेरो लक्ष्य छ ।
प्रस्तुतिः दिलबहादुर केसी