किसानको दुःख नहुने भो कहिले सुःख

लमजुङ, कार्तिक १५ गते ।
गत कार्तिक ८ गते परेको असिनापानीका कारण लमजुङको भुजुङमा ३ हजार ७ सय ९७ रोपनी क्षेत्रफलको धानबाली असिनापानीले नष्ट गरेको छ । पाकेर काट्न ठिक्क भएको ६ वटा ठूलाठूला फाँट लगायतका खेतमा असिनापानीले विउ समेत नरहने गरि धानबालीमा क्षति पुर्‍याएपछि स्थानीयवासिन्दा चिन्तित बनेकाछन् । विगत ३० वर्षताकै ठुलो असिना परेको भुजुङ गाउँ विकास समिति वडा नम्बर ६ का किसान क्याप्टेन जीतबहादुर गुरुङले बताए । उनले भुजुङबासी सबैको धानबाली असिनाले सखाप पारेकाले सरकारसँग राहतको ब्यवस्था मिलाईदन माग गरे ।
धानबालीमा मात्रै नभएर तरकारी तथा फलफूल खेतीमा समेत लाखौंको क्षति भएको छ । झण्डै एक फिटसम्म परेको असिनाले सागमुला, काउली, आलु तथा लहरे तरकारी बालीमा क्षति पुर्‍याएको भुजुङकी जमुना गुरुङले बताईन् । उनले असिनापानीका कारण खान र विउ राख्ने समेत नराखि असिनापानीले सवै धान लगेको वताईन् । जिल्ला कृषि विकास कार्यालय लमजुङका बरिष्ठ कृषि विकास अधिकृत किशोरप्रसाद पन्तका अनुसार लमजुङका भुजुङ, घनपोखरा, भोँजे लगायतका स्थानमा गरेर झण्डै ४ हजार रोपनी क्षेत्रफलका धानबाली नष्ट भएको छ । पन्तले जिल्लाभर भएका क्षतिको विवरण सङकलनकार्य भैरहेको र प्रारम्भिक तथ्याङ्क अनुसार १ करोड बढी क्षति भएको वताए ।


यस्तै घनपोखराका उत्तमजङ गुरुङका अनुसार असिनापानीले घनपोखराको घोप्टेमा झण्डै ४ सय रोपनी खेतमा लगाएको धानबाली र भट्ट खेती नष्ट भएको छ । असिनाले उत्तरकन्या, सिम्पानी, खुदी लगायतका स्थानमा पनि आंसिक रुपमा क्षति पुर्‍याएको स्थानीयवासिन्दाले वताएकाछन् ।



केहीदिन यता लगातार जस्तै परेको फिसफिसे पानी र तुवाँलोका कारण धानबालीमा थप क्षति पुगेको छ । काटेर कुन्युमा राखेका धानमा ढुसी लाग्न थालेका छन् भने कतै खेतबारीमै धान भिजेर उम्रन लागेको किसानहरुले बताएका छन् । यस वर्षलमजुङमा धानवाली राम्रो भएको भन्दै जिल्ला कृषि विकास कार्यालयले २० प्रतिशत सम्म धान उत्पादन बढ्ने अनुमान गरेको थियो ।