काठमाडौं, २४ जेठ
राष्ट्रिय योजना आयोगले नेपालको रोजगारी वृद्धिदर ३ प्रतिशतबाट बढाएर ३.६ प्रतिशत पुग्ने गरी लक्ष्य निर्धारण गर्ने भएको छ । त्रिवर्षीय योजना ०६७/६८—०६९/७०) मा रोजगारी सिर्जना हुनेखालका आयोजना र कार्यक्रम तय गरिएको आयोगका उपसचिव बद्रीनाथ कोइरालाले बताए । “कृषि, उद्योग, व्यापार पर्यटन, स्थानीय विकास र पूर्वाधारमा कार्यक्रम बढी केन्द्रित हुन्छ,” उनले भने, “त्यहीँबाट नेपालमा रोजगारी वृद्धि हुनेछ ।” २००८ को श्रम सर्वेक्षणअनुसार ३ प्रतिशतले रोजगारी वृद्धि भएको थियो ।
सो सर्वेक्षणअनुसार १५ देखि ५९ वर्षसम्मका १ करोड ५४ लाख श्रमशक्ति छन् । त्यसमध्ये १ करोड १७ लाख रोजगार छन् । बाँकी बेरोजगार रहेको आयोगका उपसचिव कोइरालाले बताए । “श्रम बजारमा वार्षिक ४ लाख २५ हजार श्रमशक्ति आउने गर्छन्,” उनले भने, “३ लाख वैदेशिक रोजगारीमा जान्छन्, बाँकी रहेकालाई पनि रोजगारी दिन सकिएको छैन ।” उनका अनुसार बेरोजगारलाई रोजगारी दिन सक्नुको साथै वैदेशिक रोजगारीमा जाने श्रमशक्तिलाई रोक्ने कार्यक्रम बनाइनेछ ।
अहिले प्रत्येक मन्त्रालयबाट कस्तो कार्यक्रम र आयोजनाबाट कति रोजगारी सिर्जना भइरहेको छ भन्नेबारेमा तथ्यांक माग्ने काम भइरहेको उपसचिव कोइरालाले बताए । “रोजगारी सिर्जना गर्न केन्द्र र स्थानीयस्तरमा समन्वय हुनेछ,” उनले भने, “त्यहीअनुसार कार्यक्रम आउनेछ ।”
यसैगरी, अर्बौं रेमिटेन्स भित्रिए पनि उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नसकेकाले त्यसको व्यवस्थापनका लागि पनि कार्यक्रम ल्याइने उनको भनाइ छ ।