स्वरोजगारका निम्ति सम्झौता

२१ फागुन, काठमाडौं । साना किसान विकास बैङ्क रहेका क्षेत्रहरूमा युवा तथा साना व्यवसायी स्वरोजगार कर्जा लगानी गर्ने सम्बन्धमा बैङ्क र युवा तथा साना व्यवसायी स्वरोजगार कोषबीच सम्झौता भएको छ ।
बेराजगार दलित, जनजाति, महिला तथा सिमान्त साना किसान र विपन्न परिवारको कृषि तथा परम्परागत सीपमा आधारित व्यवसाय प्रवर्द्धन गरी स्वरोजगारमूलक साना उद्यम तथा मझौला व्यवसाय सञ्चालन गर्ने उद्देश्यले भएको सम्झौता भएकोहो । सम्झौता अनुसार साना किसान बैङ्कले पहाडी १७ र तराईका २३ जिल्ला भित्र बैङ्कसँग आबद्ध लघुवित्त संस्था र साना किसान सहकारी संस्थालाई स्थानीयलाई कर्जा परिचालन गर्ने छ । त्यसका लागि कोषले कर्जा एवं प्राविधिक सहयोग उपलब्ध गराउने छ ।
कोषबाट बैङ्कले पहिलो वर्ष ३० करोड रुपियाँ, दोस्रो वर्ष ३० करोड रुपियाँ र तेस्रो वर्ष ४० करोड रुपियाँ गरी तीन वर्षमा एक अर्ब कर्जा लिई आबद्ध संस्थाहरूमार्फत पहिलो वर्ष तीन हजार, दोस्रो वर्ष तीन हजार र तेस्रो वर्ष चार हजार गरी १० हजार परिवारलाई कर्जा परिचालन गरी स्वरोजगार एवं आर्थिक विकासको अवसर सिर्जना गरिने छ ।
कृषि, वागवानी, पुशपंक्षीपालन, स-साना ग्रामीण तथा घरेलु लघु उद्यम, स्वरोजगारमूलक एवं आयमूलक व्यवसाय, साना खुद्रा पसल, औषधि पसल, भेटेरिनरी औषधि पसल, मलखाद, बीउबिजन, सेवा व्यवसाय आदिका लागि सो कर्जा प्रवाह गरिने बैङ्क र कोषद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।