सुलभ अस्पताल बेलबारी, मोरङ

मेरो व्यवसाय
भोजराज बस्नेत
अध्यक्ष एवं निर्देशक
मेरो परिवारका सबै सदस्य शिक्षा पेसामा संलग्न छन् तर मेरो ध्यान कहिल्यै पनि सरकारी जागिर खानुपर्छ भन्नेतिर गएन । बुबाआमा तथा ठूलोबुबा, दाजुभाउजूहरूले पनि मलाई पढेर शिक्षक बन्नुपर्छ भन्नुहुन्थ्यो । सानैदेखि अरुले गरेको व्यवसाय देखेर होला, मेरो ध्यान पनि त्यस्तै व्यवसायी बन्नेतर्फ बढी गयो । २०६१ सालमा एलएलसी पास गरेपछि सुकुना बहुमुखी क्याम्पसमा अध्ययन गर्न मोरङकै हसनदहबाट बेलबारीमा डेरा लिएँ । बुबाले ५ हजार दिनुभएको थियो, पढाइ खर्च भनेर । त्यही ५ हजार पैसाले सानोतिनो व्यवसाय सुरू गरें । घरबाट मैले अहिलेसम्म लिएको भनेको त्यही ५ हजारमात्रै हो । त्यही पैसाले सुरूसुरूमा काठको व्यापार गरें ।
अहिले ग्रामीण क्षेत्रका बिरामीको सेवालाई ध्यानमा राखेर बेलबारीमै अस्पताल खोलेको छु । यसमा केही साथीहरूको सेयर भए पनि मैले अस्पतालको अध्यक्ष र निर्देशक भएर काम गरिरहेको छु । सानोमा मैले यही नै व्यवसाय गर्छु भनेर नसोचेको भए पनि एउटा न एउटा व्यवसायचाहिँ पक्कै गर्छु भन्ने थियो ।
आफूसँग पैसा छ भने धेरैतिर छर्नुपर्छ, त्यसले आफैं आम्दानी दिन थाल्छ । मैले पनि जग्गा, अस्पताल, एफएम र पत्रिका, विभिन्न सहकारीको सेयरमा लगानी गरेको छु । मेरै सम्पादनमा बेलबारीबाट ‘संयन्त्र’ साप्ताहिक निस्किरहेको छ । त्यसलाई भर्खरमात्र ‘संयन्त्र सञ्चार सहकारी’का रूपमा दर्ता गरेको छु । ‘गोरेटो’ नामक एमफएम पनि दसैंअघिदेखि सञ्चालनमा आउँदैछ । त्यसको सामान ल्याउने काम भइरहेको छ ।
मैले सञ्चालन गरेका सबै व्यवसायमा ५० जनाभन्दा बढीले रोजगारी पाएका छन् । ती सबैमा डेढ करोड रूपैयाँभन्दा बढी लगानी पुगेको छ । सबै व्यवसायबाट एक–डेढ लाख रूपैयाँजति आम्दानी हुन्छ । पैसा भन्ने चिज यस्तै रहेछ । जति कमाए पनि आफ्नो साथमा चाहिँ हुँदोरहेनछ । बाहिबाहिरै घुमिरहेको हुन्छ । त्यसले लगानीको क्षेत्र भने फराकिलो बनाइरहेको हुन्छ । पढेर जागिर खाएको भए बढीमा माविको शिक्षक हुन्थें । अहिलेको अवस्थामा जागिरले घरखर्च पु¥याउनै गाह्रो हुन्थ्यो । धेरैतिर लगानी गरेकाले आम्दानी पनि बढ्दैछ । म आफ्नो व्यवसायबाट पूर्ण रूपमा सन्तुष्ट छु । कुनै पनि व्यवसायमा सफल हुन इमान्दारी र लगनशीलता हुनुपर्छ । अनि धैर्यशक्ति पनि जरुरी हुन्छ । आज व्यवसायमा घाटा भयो भनेर आत्तिनुहुँदैन, कुनै न कुनै दिन अवश्य पनि नाफा हुन्छ ।