माछामा फर्मालिन केमिकल प्रयोग

अजित तिवारी, विराटनगर, साउन ३१- भारतको आन्ध्र प्रदेश र कोलकाताबाट पूर्वाञ्चलमा भित्रिने माछामा ‘फर्मालिन केमिकल' प्रयोग हुने गरेको छ। सामान्यतयाः लास कुहिन नदिन प्रयोग गरिने यो रसायन मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ।
आन्द्रा र कोलकाताको समुन्द्रमा मारिएका माछा पूर्वाञ्चलका बजारसम्म आइपुग्न झन्डै १० देखि १२ दिन लाग्छ। यस अवधिमा माछालाई कुहिन नदिन फर्मालिन प्रयोग गरिएको हो। फर्मालिनमा चोभिएको माछा लामो समयसम्म पनि ताजा देखिन्छ। फर्मालिन र पानीको समिश्रण प्रयोग गरिएको माछा पानीबाट झिकिएको १५ दिनपछि काट्दा भर्खरै झिकिए झैं रगत आउँछ।
‘फर्मालिन विषादी हो, यो खाँदा मान्छेको कलेजोमा नोक्सानी पुर्‍याउँछ,' नोवेल मेडिकल कलेजका प्याथलोजिस्ट डा. विदुर वस्तीले नागरिकसँग भने, ‘मृत शरीरलाई कुहिनबाट रोक्न प्रयोग गरिने फर्मालिन जिउँदो शरीरका लागि पाच्य हुँदैन।'
पूर्वी नेपालको माछाको ठूलो बजार विराटनगरमा दैनिक दुई हजार किलो माछा खपत हुन्छ। माछाका थोक बिक्रेता दिलीप सहनीका अनुसार विराटनगरमा दैनिक बिक्री हुने माछामध्ये ७० प्रतिशत भारतबाट आउँछ। ‘लोकल माछा धेरै परिमाणमा पाइँदैन, भारतको माछा आइसबक्स(बर्फ)मा राखिएर ल्याउने हुँदा मारिएको केही दिनपछि पनि ताजा नै हुन्छ,' सहनीले भने।
आन्द्रा र कलकताको समुन्द्री इलाकामा मारिएको माछा नेपालसम्म आइपुग्न १०-१२ दिन लाग्ने भएकाले कुहिन र गन्हाउन नदिन फर्मालिन केमिकल सिरिञ्चको सहायताले माछाको पेटमा हालिन्छ।
‘फर्मालिनमा चोभिएको माछा विराटनगरको बजारमा छ्यापछ्याप्ती पाइन्छ,' स्थानीय माछा उत्पादक जनक कार्कीले भने, ‘खाद्य निरीक्षण नहुँदा माछामा प्रयोग हुने केमिकलबारे अनभिज्ञ उपभोक्ताले यसको उपभोग गरिरहेका छन्।'
पूर्वी नेपालमा भारतका कमन, भ्याकुर, रहु, नैनी र ग्रास माछाको बढी खपत हुन्छ। ‘उपभोक्ताले लोकल माछा नै खोज्छन्, तर उनीहरु चिन्दैनन्,' कार्कीले भने,‘ठूलो माछा खाने चक्करमा उपभोक्ताहरु विषादी खाइरहेका छन्।' भारतबाट आउने माछामा फर्मालिन प्रयोग भइरहेको जानकारी स्थानीय माछा उत्पादकले मत्स्य विभागलाई गराए पनि त्यसलाई रोक्न खासै पहल नभएको उनीहरुको आरोप छ। लोकलभन्दा आन्द्रा र कलकताको माछा सस्तो र आकारमा ठूलो हुन्छ।
विराटनगरमा लोकल रोह र नैनी माछा प्रति किलो दुईसय ५० देखि तीनसय रुपैयाँमा बिक्री हुन्छ भने भारतका माछा एक सय ५० देखि दुईसय रुपैयाँमा एक किलो पाइन्छ। ‘भारतबाट आउने माछा आइसमा राखिएको हुन्छ, कुनै प्रकारको केमिकल प्रयोग भएको हुँदैन,' भारतीय माछाका थोक बिक्रेता सहनीले भने, ‘स्थानीय उत्पादकले महँगोमा माछा बेच्न त्यस्तो आरोप लगाएका हुन्।'
कृषि विकास कार्यालय मोरङका योजना अधिकृत वसन्त अर्यालका अनुसार मोरङमा वार्षिक १४ सय टन माछा उत्पादन हुन्छ। ‘उपभोक्ताको कुल मागको ३० प्रतिशत पनि स्थानीय माछाले धान्दैन,' उनले भने। भारतको आन्द्रा प्रदेश र कोलकाताबाट पूर्वी नाकामा भित्रिने माछा काठमाडौंसम्म पुग्ने गरेको छ।

पाँच हजार पढाइ खर्च लगानी गर्दा करोडपति

सुलभ अस्पताल बेलबारी, मोरङभोजराज बस्नेत

मेरो व्यवसाय
भोजराज बस्नेत
अध्यक्ष एवं निर्देशक
मेरो परिवारका सबै सदस्य शिक्षा पेसामा संलग्न छन् तर मेरो ध्यान कहिल्यै पनि सरकारी जागिर खानुपर्छ भन्नेतिर गएन । बुबाआमा तथा ठूलोबुबा, दाजुभाउजूहरूले पनि मलाई पढेर शिक्षक बन्नुपर्छ भन्नुहुन्थ्यो । सानैदेखि अरुले गरेको व्यवसाय देखेर होला, मेरो ध्यान पनि त्यस्तै व्यवसायी बन्नेतर्फ बढी गयो । २०६१ सालमा एलएलसी पास गरेपछि सुकुना बहुमुखी क्याम्पसमा अध्ययन गर्न मोरङकै हसनदहबाट बेलबारीमा डेरा लिएँ । बुबाले ५ हजार दिनुभएको थियो, पढाइ खर्च भनेर । त्यही ५ हजार पैसाले सानोतिनो व्यवसाय सुरू गरें । घरबाट मैले अहिलेसम्म लिएको भनेको त्यही ५ हजारमात्रै हो । त्यही पैसाले सुरूसुरूमा काठको व्यापार गरें ।
अहिले ग्रामीण क्षेत्रका बिरामीको सेवालाई ध्यानमा राखेर बेलबारीमै अस्पताल खोलेको छु । यसमा केही साथीहरूको सेयर भए पनि मैले अस्पतालको अध्यक्ष र निर्देशक भएर काम गरिरहेको छु । सानोमा मैले यही नै व्यवसाय गर्छु भनेर नसोचेको भए पनि एउटा न एउटा व्यवसायचाहिँ पक्कै गर्छु भन्ने थियो ।
आफूसँग पैसा छ भने धेरैतिर छर्नुपर्छ, त्यसले आफैं आम्दानी दिन थाल्छ । मैले पनि जग्गा, अस्पताल, एफएम र पत्रिका, विभिन्न सहकारीको सेयरमा लगानी गरेको छु । मेरै सम्पादनमा बेलबारीबाट ‘संयन्त्र’ साप्ताहिक निस्किरहेको छ । त्यसलाई भर्खरमात्र ‘संयन्त्र सञ्चार सहकारी’का रूपमा दर्ता गरेको छु । ‘गोरेटो’ नामक एमफएम पनि दसैंअघिदेखि सञ्चालनमा आउँदैछ । त्यसको सामान ल्याउने काम भइरहेको छ ।
मैले सञ्चालन गरेका सबै व्यवसायमा ५० जनाभन्दा बढीले रोजगारी पाएका छन् । ती सबैमा डेढ करोड रूपैयाँभन्दा बढी लगानी पुगेको छ । सबै व्यवसायबाट एक–डेढ लाख रूपैयाँजति आम्दानी हुन्छ । पैसा भन्ने चिज यस्तै रहेछ । जति कमाए पनि आफ्नो साथमा चाहिँ हुँदोरहेनछ । बाहिबाहिरै घुमिरहेको हुन्छ । त्यसले लगानीको क्षेत्र भने फराकिलो बनाइरहेको हुन्छ । पढेर जागिर खाएको भए बढीमा माविको शिक्षक हुन्थें । अहिलेको अवस्थामा जागिरले घरखर्च पु¥याउनै गाह्रो हुन्थ्यो । धेरैतिर लगानी गरेकाले आम्दानी पनि बढ्दैछ । म आफ्नो व्यवसायबाट पूर्ण रूपमा सन्तुष्ट छु । कुनै पनि व्यवसायमा सफल हुन इमान्दारी र लगनशीलता हुनुपर्छ । अनि धैर्यशक्ति पनि जरुरी हुन्छ । आज व्यवसायमा घाटा भयो भनेर आत्तिनुहुँदैन, कुनै न कुनै दिन अवश्य पनि नाफा हुन्छ । 

कास्कीमा बाख्रा चराउँदै बंगलादेशी

अर्जुन गिरी
३० साउन, कास्की । रोजगारीका लागि दैनिक सयौं नेपाली युवा विदेश पलायन भइरहेका बेला विदेशी नागरिक नेपालमा रोजगारका लागि आउँछन् भन्ने सुन्दा अनौठो लाग्न सक्छ । तर, कास्कीको एउटा गाउँमा बंगलादेशी नागरिक बाख्रा गोठालाका लागि भिसा अनुमति लिएर काम गरिरहेका छन् ।
यसरी बाख्रा गोठालोको काम गर्ने बंगलादेशी नागरिक मोहम्मद आसराफुल आलम हुन् । उनी विगत ७ महिनायता कास्कीको भरतपोखरी गाविस-३ सिगारेवासमा रहेको चन्द्रकान्त आचार्य र विजय आचार्यको संयुक्त लगानीमा सञ्चालित बाख्रा गोठमा काम गरिरहेका छन् । उनले बाख्रा हेरे बापत खाइलाई माशिक ८ हजार तलब पाउँछन् । आचार्यद्वयको गोठमा १५० बाख्रा छन् । “म नेपालमा रु २ लाख २० हजार कमाएर तीन वर्षपछि मात्र आफ्नो मुलुक बंगलादेश र्फकनेछु’ निकै उत्साही मुद्रामा भेटिएका आलमले भने ।
२५ वर्षीय आलमले एक बंगलादेशै मेनपावर कम्पनीले इराक पठाइदिने भन्दै २ लाख २० हजार लिएको तर, पछि नेपालमा जाने भए बाख्रा गोठालाको काम पाइन्छ भनेपछि आफू नेपाल आएको बताए । नेपाल आएर काम गर्न पाएकोमा उनी प्रशन्न छन् । ‘मलाई काम गर्न कुनै अप्ठ्यारे भएको छैन’ आलमले भने ‘आफ्नै देशमा काम गरे जस्तै सजिलो लागेको छ ।’नेपालको हावा पानी मन परेको र नेपालीहरुको व्यवहार आफूलाई राम्रो लागेको उनको भनाइ छ ।
उनी नेपाल आएको एक वर्षपछि छुट्टी मनाउन घर जाने योजनामा छन् । आलमले नेपाल र नेपाली मन पराएका मात्र होइनन्, आलमलाई पनि बाख्रा गोठका धनी आचार्यद्वय र अन्य गाउँलेले मन पराएका छन् । ‘उ आफ्नो काम जिम्मेवारीपूर्वक गर्छ’ चन्द्रकान्तले भने ‘यो बंङलादेशी मिहेनती छ, दिनको ४ घण्टा बाख्रा हेर्ने काम गर्छ तर यसले नजानेको काम केही पनि छैन ।’ आचार्यले आफूले काम नभ्याउने भएकाले मलाई दुई जना कामदारको खाजी गरे पनि नपाएको बताए ।
‘मलाई दुईजना कामदार चाहिएको थियो, गाउँका एकदुई जना केटाहरुले काम गर्छु भनेका पनि थिए तर , बाख्रा हेर्ने काम भने पछि तर्किए । नेपालीहरु विदेश गएर शौचालय सफा गर्न पनि पछि पर्दैनन् तर आˆनो देशमा बाख्रा हेर्ने भने पछि गाह्रो मान्दछन्’ आचार्यले भने । १८ वर्ष विदेशमा विताएर आएका स्थानीय विष्णुकुमार गुरुङले आफ्नै देशमा अरुले काम गरेर पैसा कमाएको देखेर विदेश जाने चक्कर छाडेर तरकारी खेती र माछा पालन सुरु गरेको बताए ।